ECO WALK 2016

KATHMANDU

संगै आऊँ

– डा. ल्हाक्पा नोर्बु शेर्पा

अन्तर-सांस्कृतिक समझदारी र सामाजिक एकतालाई प्रवर्द्धन गर्न लोसार पर्वलाई समायोजन गर्न सकिन्छ ।

सोनाम लोसारको केहि दिन अगाडि म बौद्धनाथमा आवश्यक सामानहरु किन्न गएको थिएँ । जुन पसलमा म छिरे, त्यहाँ एकजना मान्छे पसलको साहुजीसँग कुराकानी गर्दै थिए, “ओहो! कति छिटो हाम्रो तामाङ लोसार पनि आइसकेछ” उसले भन्यो । यो सुनेपछि मैले सोधे, “त्यसलाई त सोनाम लोसार भनिन्छ होइन र?” ति सज्जनले हाँस्दै थपे, “हो, तर आजकल तोलो लोसारलाई तमु लोसार भन्छन । त्यसैले किन सोनाम लोसारलाई तामाङ लोसार नभन्ने त?”

यसले हामी (तामाङ र शेर्पा) बिच लोसारको सन्दर्भमा छोटो बहस प्रारम्भ गरायो । ‘लो’ भनेको बर्ष र ‘सार’ भनेको नयाँ हो । लोसार हिमालय क्षेत्र र तिब्बतका बौद्ध समुदायले मनाउने नयाँ बर्षको उत्सव हो । नेपालको हिमाली क्षेत्रका तामाङ, शेर्पा, ह्योल्मो, गुरुङ, भोटिया, लोवा, डोल्पोपा, मुगुम्पा लगायत समुदायले लोसार मनाउछन् ।

तीन प्रकारका लोसार:
बिशेषगरी तीन प्रकारका लोसारहरु प्रचलनमा छन् । हिउँदमा लगभग एक महिनाको अन्तरमा तोलो, सोनाम र ग्याल्पो लोसार मनाईन्छ । यो बर्ष तोलो लोसार पुस १५ मा, सोनाम लोसार माघ १७ गते र ग्याल्पो लोसार फाल्गुन १८ गते परेको थियो । चन्द्रमास पात्रो अनुसार प्रत्येक बर्ष लोसारको तिथि फरक पर्ने गर्दछन् ।

मैले मेरो तामाङ मित्रलाई आफुले अग्रजहरुबाट लोसारको बारेमा सिकेका कुराहरु बताए । तोलो लोसार हिउँदको मध्यतिर सुर्य दक्षिणबाट उत्तरी ध्रुवतर्फ फर्किने समयलाई नयाँ सुरुवातको रुपमा लिएर मनाइन्छ । सोनाम लोसार तोलो र ग्याल्पो लोसारको बिचमा पर्छ, जुन उच्च हिमाली क्षेत्रमा बासोबास गर्ने कृषकहरुको जिवनशैलीलाई आधार मानेर बिकास भएको देखिन्छ किनभने उनीहरुका लागि मध्य हिउँद लोसार मनाउन अति चिसो हुने र ग्याल्पो लोसारको समयमा उनीहरु कृषि कामको लागि ब्यस्त हुनु पर्ने हुन्छ । ग्याल्पो लोसारको शाब्दिक अर्थ राजाको लोसार भनेको हुन सक्छ जुन मंगोल शासकले सैनिक बिजय हासिल गरेको उपलक्ष्यमा मनाउने गरेको भनिन्छ । त्यसैले ग्याल्पो लोसार बिशेषगरी शासक बर्ग र उनीहरुसँग नजिक भएका मानिसहरुले मनाउने गर्छन् । यति सुनेपछि तामाङ मित्रले तत्काल प्रश्न गरिहाले, “किन काठमाण्डौंका शेर्पाहरु ग्याल्पो लोसार मनाउछन् त? शेर्पाहरु पराम्परागत रुपमा कृषक र पशुपालक नै थिएनन् र?” त्यो प्रश्नले मलाई अचम्मित तुल्यायो । हिमाली गाउँ जहाँ म हुर्के, गाउँलेहरुले जहिले पनि सोनाम लोसार नै मनाउथे । आफुसँग चित्तबुझ्दो जवाफ नभएकोले मैले ख्यालठट्टा गर्दै भने, “शुरुमा काठमाण्डौंमा बासोबास गर्ने शेर्पाहरुले आफुलाई ग्याल्पोको नयाँ छिमेकी ठानेर ग्याल्पो लोसार मनाउन थाले होलान् ।” यो पनि हुन सक्छ कि कुनै कुनै गाऊँका शेर्पाहरुले ग्याल्पो लोसार मनाउँथे होलान् र त्यही समुदायले काठमाण्डौंमा शासकवर्गको जस्तो व्यवहार गर्दै ग्याल्पो लोसारलाई प्रचलनमा ल्याएका होलान् ।

अन्तर-साँस्कृतिक साधन
बिगत समयमा जे जस्तो कारणले फरक समय र नाममा लोसार मनाए पनि यो अहिले हिमालय क्षेत्रका बौद्ध समुदायहरुको एक महत्पुर्ण साँस्कृतिक सम्पदाको रुपमा प्रस्तुत भएको छ । हिमाली तथा पहाडी क्षेत्रबाट मानिसहरु आउने क्रम बढेसँगै काठमाण्डौंमा लोसारको ब्यापकता बढ्दै गइरहेको छ । नौलो राजनैतिक परिवर्तनसँगै लोसार राष्ट्रिय पर्वको रुपमा स्थापित भइसकेको छ र सरकारले लोसारको लागि छुट्टा छुट्टै तीन दिनको बिदा पनि दिदै आइरहेको छ । यसप्रकारको राष्ट्रिय पर्वले अन्तर-साँस्कृतिक समझदारी बढाउन र जनमानसमा एकता कायम गर्नका लागि योगदान पुरयाउन सक्नुपर्छ । लोसार एकता कायम गर्न सक्ने संभावना बोकेको पर्व हो । तर यो पर्वले सोचेजति प्रभावकारी रूपमा यो भुमिका निर्वाह गर्न सकेको देखिन्दैन । बिभाजित रुपमा यो पर्वलाई मनाउनु नै यसको मुल समस्या हो ।

कुनै पनि लोसारको तयारी गर्न, आफन्तजनसँग भेटघाट गर्न र पराम्परा अनुसार मनाउन एक दिनको विदा पर्याप्त छैन । लोसारको शुरुवात बर्षको अन्तिम महिनाको उनन्तीसौ दिनबाट शुरु हुन्छ र त्यसछिको तीन दिन घरपरिवारमा बसेर मनाइन्छ । त्यसपछि समुदाय तहमा मनाउने कार्य हुन्छ । यसबीचमा बिभिन्न सामाजिक संघसंस्थाहरुले विविध कार्यक्रमहरु आयोजना गर्छन । तसर्थ, लोसार राम्रोसँग मनाउन पाँचदेखि सातदिन आवश्यक पर्छ ।

बिभिन्न लोसारलाई बिशेष समुदायले आफ्नो भनी दाबी गर्ने प्रवृतिले एकीकृत गर्नुको साटो बिभाजित गर्ने भुमिका बढी खेलेको देखिन्छ । जब गुरुङहरु आफ्ना सम्पुर्ण उर्जा लगाएर भब्यरुपमा तमु लोसार मनाउने प्रयत्नसहित सडकमा रयाली निकालिरहेका हुन्छन, तब शेर्पा, तामाङ र अन्य समुदायका सदस्यहरु मौन दर्शकमात्र बनिरहेका हुन्छन् । जब तामाङले टुंडिखेलमा सोनाम लोसार मनाइरहेका हुन्छन्, अन्य सोनाम लोसार मान्ने समुदायका सदस्यहरु आफुहरुलाई त्यो रमझमबाट टाढा राखेको महशुस गरिरहेका हुन्छन् । त्यसैगरी जब शेर्पाहरुले ग्याल्पो लोसारको आयोजना गर्न शुरु गर्छन, गुरुङ, तामाङ र अन्य समुदायले मनाइसकेका हुन्छन् । लोसार नमनाउने समुदायहरु भने जहिले पनि सोधिरहेका हुन्छन, “लोसार कति वटा हुन्छन ?” “तीन प्रकारका लोसारहरु छन, एउटा गुरुङको, एउटा तामाङको र एउटा अझै कसैको हुन बाँकी छ,” नै यसको दु:ख लाग्दो उत्तर भएको छ ।

एकिकृत लोसार
लोसारलाई एकिकृत रुपमा मनाउन आवश्यक छ र यसको लागि एउटा लोसारलाई अधिकारिक लोसारको रुपमा घोषणा गर्नुपर्छ । बहुसंख्यक लोसार मनाउने समुदायको कृषक पृष्ठभुमि भएकोले सोनाम लोसार नै उपयुक्त अधिकारिक लोसार हुन सक्छ । यसको लागि ग्याल्पो लोसार मनाउनेहरुले एक महिना अगाडि र तोलो लोसार मनाउनेहरुले एक महिना ढिलो मनाउने गरे पुग्छ र तीन दिनको सार्वजानिक विदा एकैचोटि लिन सकिन्छ । थप फाइदा के छ भने धेरै संख्यामा हिमाली क्षेत्रका मानिसहरु हिउँदमा महिनामा तिर्थटन गर्न र चिसो छल्न काठमान्डौं झर्छन, उनीहरु पनि काठमान्डौंमा आफ्ना समुदायका मानिसहरुसँग सोनाम लोसार मनाउन पाउछन् । तर ग्याल्पो लोसार आउने बेलासम्ममा उनीहरु आफ्ना खेतीपाती र व्यवसायका लागि गाउँ फर्किनु पर्ने हुन्छ । यसको अलवा सोनाम लोसार चीन, जापान, भुटान र भारतको बिभिन्न स्थानहरुमा मनाइने नयाँ बर्षसँगै पर्ने गर्दछ ।

जब हामीबीच एउटा अधिकारिक लोसारको लागि सहमत हुन्छौं, त्यसपछि सरकारसमक्ष थप दुइदिनको विदा मागगरि पाँचदिन बनाई लोसारलाई भव्यताकासाथ मनाउन सक्नेछौ । यसले बिधालयबाट बच्चाहरुलाई घर ल्याउन र परिवारका सदस्यहरु जम्मा हुन पर्याप्त समय हुनेछ । त्यति मात्र नभएर लोसार नमनाउने समुदायलाई पनि परिवार र आफन्तसँग विदा मनाउन जान र महत्वपुर्ण कामहरु सम्पन्न गर्न सहज हुनेछ, जुन एक महिनाको फरकमा दिने एक दिनको विदाको समयमा सम्भव हुँदैन । यसका साथै हिमाली जिल्लाका विधालयहरुमा दिइने हिउँदे विदा सोनाम लोसारको समय परे लिन सकिन्छ ।

लोसारलाई एकिकृत र व्यापकता दिन सक्यो भने यसले सामाजिक र साँस्कृतिक महत्वलाई बढाउनुकासाथै बस्तु उत्पादक, ब्यापारी लगायत सबैको आर्थिक क्रियाकलापमा सघाउ पुग्नेछ । तोलो र ग्याल्पो लोसार मनाउने समुदायले घरायसी तहमा आफ्ना पराम्पराहरुलाई निरन्तरता दिन सक्नेछन् ।

लोसारको इतिहासलाई हेर्दा प्राचीन समाजहरुले उनीहरुको आवश्यकता अनुसार यसलाई समायोजन गरेको पाइन्छ । हामीले पनि वर्तमान र भावी पुस्ताको चाहना र समाजको बदलिंदो आवश्यकतालाई सम्बोधन गर्न लोसार पर्वलाई समायोजन गर्दै लैजान सक्नु पर्छ ।

(माउन्टेन स्पिरिटका सल्लाहकार डा. शेर्पाको अंग्रेजी राष्ट्रिय दैनिक काठमाण्डौं पोष्टमा गत २०७० फाल्गुन १५ गते प्रकाशित यो लेखलाई ल्हाक्पा तेन्जी लामा (शेर्पा)ले नेपालीमा अनुवाद गर्नु भएको हो । यो लेख माउन्टेन स्पिरिटको चौमासिक इ-न्युजलेटरको भाग – ५, अप्रिल २०१४ अंकमा पुन प्रकाशित भएको हो । न्युजलेटर पुरा पढ्न यहाँ क्लिक गर्नुहोस ।)